वीरगञ्जः अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत वीरगञ्जमा पहिलो पटक वायु प्रदूषण मापन गर्न थालिएको छ ।

वीरगञ्ज महानगरपालिका –३१ स्थित सोलखपुरमा जडान गरिएको डिभाइसमार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइसले प्रदूषणको मात्रा यकिन गर्ने छ ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी उपकरण जडान गरिएको हो । मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही क्षेत्रमा पर्छ ।

यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको सङ्ख्या पनि बढ्दो छ ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत सङ्कलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिए ।

‘वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्याङ्कन भइरहेको छ’, उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करिब दुई सय उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्याङ्कन गर्ने काम गरिरहेको छ । -रासस