चितवनः नेपाल कम्युनिस्ट पार्टी (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ ।

सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताबीच अनौपचारिक पहल भने अहिले जारी छ ।

महाधिवेशनको बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि तीन सय एक् सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ । बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । एमाले केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रूपमा कोसिस भइरहेको जानकारी दिए ।

शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ । यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्थाबमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । सहमति वा निर्वाचन जे भए पनि बन्दसत्र आज सम्पन्न गर्ने तयारी छ ।

पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने छ । विधानमा पोलिटब्युरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् । निर्वाचन आयोगमा अध्यक्ष डा विजय सुब्बासहित १० सदस्य गत विधान महाधिवेशनले चयन गरिसकेको छ भने बाँकी सदस्य यो महाधिवेशनले छान्नेछ ।

एमालेका सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटीले आफ्नो कमिटीको कुल सदस्य सङ्ख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोहीअनुरूप हुनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीको आधार सङ्ख्या ७५ सदस्यीय हुनेछ ।

बन्दसत्रले तीन सय एक सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको सङ्ख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ । -रासस