इटहरीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी जिल्ला कार्यसमिति पदाधिकारीको उमेद्वारी नामावली सार्वजनिक भएको छ ।
आज (आइतबार) हुने जिल्ला अधिवेशनका ६७ पदका लागि चुनाव हुँदैछ जसमा १ सय ८९ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस प्रदेश नम्बर १ को निर्णायक भूमिको रूपमा रहेको सुनसरीमा सभापति पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसअन्तर्गत वर्तमान उपसभापति सन्जयप्रसाद श्रेष्ठ सँस्थापन (शेरबहादुर देउवा) पक्षबाट चुनाव लड्नेछन् भने वर्तमान सचिव केदार भण्डारी सँस्थापनइतर पक्षबाट लड्ने भएका हुन् । त्यस्तै, सन्जयप्रसाद श्रेष्ठको प्यानलबाट उपसभापतिका लागि गफार अन्सारी मियाँ र महेश दत्तको उमेदवार छ भने पंकजकुमार महतो र नगेसचन्द्र राईले केदार भण्डारीको समुहबाट उम्मेद्वारी दिएका छन् ।
यसैगरी भण्डारीको समुह तर्फबाट सचिवमा माधवबहादुर घिसिङ, प्रमोदकुमार पोखरेल छन् भने गीरधारीप्रसाद साह र सुनिलकुमार साह सहसचिवका उम्मेद्वार हुन् । श्रेष्ठको समुहबाट भने वीरेन्द्रकुमार स ाह र रन्जेस भट्टराई सचिव र गणेश सुब्बा र गणेशकुमार रोय सहसचिवमा लड्ने भएका छन् । आज इनरुवा जेलफिल्डमा हुने निर्वाचनका लागि रमेश पाल सचिव र मनिशकुमार राय र रमेश कट्वाल सहसचिवतर्फ स्वतन्त्र उमेद्वार रहेका छन् । ४ वटा प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सकिँदै गर्दा जिल्लामा सस्थापन र इतर पक्ष उस्तै दावेदार देखिएपछि श्रेष्ठ र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।