इटहरीः घरबाट बेपत्ता भएको तीन दिनपछि गत कात्तिक २४ गते आफ्नै घरदेखि पूर्वपट्टि रहेको सिंघिया खोलामा अर्धनग्न अवस्थामा मृत भेटिएका बालक निश्चल रायको हत्यारा पत्ता लगाउन दबाबस्वरुप स्थानीयले आज प्रदर्शन गरेका छन् । कार्तिक २२ गते अपराहन्न ३ः०० बजेदेखि घरबाट बेपत्ता भएका बालकको शव फेला परेपछि हत्या भएको आशङ्कामा स्थानीयले प्रदर्शनसमेत गरेका थिए । तर हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै स्थानीयले आज पुनः प्रदर्शन गरेका हुन् ।

तीन सातासम्म घटनाको विवरण सार्वजनिक नगरेपछि प्रदर्शन गरेको स्थानीयको भनाइ छ । मृतकका बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिए पनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिँदैन । घाँटी भाँचिनु, तिघ्रामा डोरीले बाँधेको जस्तो डाम देखिनु, छातीमा जुत्ताको जस्तो डाम देखिनु र पेटमा सियोले रोपिएको जस्ता प्वालहरू देखिएको उनको भनाइ छ । उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर सङ्गठनका नेता हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसिइबीका कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी घटनाको अनुसन्धान भइरहेको बताउँछन् । प्रारम्भिक पोस्टमार्टम रिपोर्ट आएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए । बालकको कोसी अस्पताल विराटनगरमा पोस्टमार्टम गरी शवको भिसेरा जाँच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।