इटहरीः मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीमा इमान्दार तथा निष्ठावान नेताको छवि बनाएका पण्डितले यसपटक आफू पार्टीको निर्णायक भुमिकामा रहेर योगदान दिने उद्देश्यका साथ उम्मेदवारी दिने तयारीमा रहेको बताए । महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको तथा मन्त्री पदमा रहँदासमेत आफुले उल्लेखनीय काम गरेको स्मरण गर्दै निर्वाचन भएको अवस्थामा आफुलाई देशभरका नेताहरुले मत दिएर जिताउनेमा आफु ढुक्क रहेको बताए । नेताहरुले सर्वसहमत गर्ने क्रममा के हुन्छ भन्न नसकिए पनि निर्वाचन भएको अवस्थामा आफुले जित्ने कुरामा कुनै दुईमत नभएको पण्डितको दाबी छ ।

४४ वर्षदेखि पार्टीमा निरन्तर पार्टीमा क्रियाशील रहेका पण्डितले पछिल्लो पटक पार्टीमा समस्या आएको अवस्थामा समेत आफू सँधै जवज र सूर्य चिन्हको पक्षमा रहने अभिव्यक्ति दिएर बेलैमा पार्टीको पक्षमा माहोल बनाउने प्रयास गरेका थिए । शालिन तथा साधारण जीवलशैलीमा आफ्नो जीवन निर्वाह गरेर देश र जनताको सेवामा सक्रिय नेताको रुपमा चिनिएका नेता पण्डित देश जनता र रास्ट्रियताको सबालमा चट्टानी अडान लिन सक्ने कुनैपनि प्रकारको प्रलोभन, धाकधम्कीबाट विचलित नहुने निडर नेताका रुपमा समेत परिचित छन् । सामान्य प्रशासन मन्त्री भएका बखत राष्ट्रप्रेमी कर्मचारीलाई प्रोत्साहन तथा डीभी, पीआर खल्तीमा बोकेर देशको सेवा गर्छु भन्ने कर्मचारीलाई खबरदारी गर्दै समग्र कर्मचारी प्रशासन क्षेत्र सुधार्न उनले प्रयास गरेका थिए ।