इटहरीः नेकपा एमालेका संघीय सचिव तथा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य पार्टीको महाधिवेशनस्थलमै कोरोना संक्रमित भएका छन् ।
नवौँ महाधिवेशनबाट सचिवमा चुनिएका आचार्य अहिले चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनमा पनि पदाधिकारीको दाबी गर्दै चुनावी माहौल आफ्नो पक्षमा पार्ने ध्याउन्नमा रहेकोमा कोरोना संक्रमणले उनको चुनावी व्यस्तता प्रभावित भएको छ । कोरोना संक्रमण भएपछि शुक्रबारको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन नपाएका प्रदेश १ का पूर्व मुख्यमन्त्री आचार्य अहिले सौराहाको होटल सेभेन स्टारमै आइसोलेसनमा रहेको उनका स्वकीय सचिव अनिल राजधामीले बताए । उनका अनुसार मङ्सिर ९ गते चितवनमै गरिएको स्वाब परीक्षणबाट आचार्यमा संक्रमण पुष्टि भएको हो । हाल उनी महाधिवेशनस्थलमै रहेको होटल सेभेन स्टारमा चिकीत्सकीय निगरानीमा आइसोलेसनमा छन् । सामान्य अवस्थामा रहेका आचार्यको उपचारमा संलग्न चिकित्सकले एन्टिबायोटिक औषधि दिएको स्वकीय सचिव राजधामीको भनाइ छ ।
नवौँ महाधिवेशनबाट माधवकुमार नेपालको समर्थनमा सचिव बनेका आचार्यले प्रदेश १ को मुख्यमन्त्री बन्ने अवसरका लागि पार्टी विभाजन हुँदा माधव नेपालको क्याम्प छोडेर केपी शर्मा ओलीको समर्थन गर्दै एमालेमै रहने निर्णय गरेका थिए । ओली क्याम्पमा आएपछि आचार्य भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री बनाउनकै लागि ओलीले तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाएर ठाउँ खाली गराएका थिए । सुनसरीको इनरुवास्थित बलाहा निवासी आचार्य संघीय सरकारको पर्यटन मन्त्रीसमेत बनेका थिए । उनी चार वर्षअघिको प्रदेशसभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर १ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रदेश तथा स्थानीय तहको निर्वाचनताका टिकट वितरणमा मोटो रकम लिएर टिकट वितरण गरेको अडियो सार्वजनिक भएपछि आचार्य विवादितसमेत बनेका थिए ।
संघीय सरकारको पर्यटन मन्त्री हुँदा विभिन्न विवादमा मुछिएका उनी पछिल्लो समय उड्ययन व्यवसायी तथा ओलीका विश्वासपात्र रामेश्वर थापा र यति समूहका सञ्चालक स्व.आङछिरिङ शेर्पासँग विवादमा परेपछि केपी शर्मा ओलीकै दबाबमा उनी पर्यटन मन्त्रीबाट राजीनमा दिन बाध्य भएका थिए । सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुने नेताका रुपमा कार्यकर्ताबीच आलोचित भइरहने मुख्यमन्त्री आचार्य एमाले विवाद समाधान गर्नका निम्ति बनेको कार्यदलका सदस्यसमेत बनेका थिए । कार्यदलमा रहेर पार्टीलाई एकढिक्का बनाएर फुट्नबाट जोगाउन आफू लागिपरेको बताउने उनीसहित माधवपक्षीय १० जनाभन्दा बढी नेताहरु ओलीतर्फ नै ढल्किएका थिए । मुख्यमन्त्री निर्वाचित भएकै दिन आचार्यका भाइ रामप्रसाद आर्चाले आत्महत्या गरेपछि सपथ लिएलगत्तै उनी भाइको अन्त्येष्टिमा सहभागी भएका थिए ।