खोटाङः प्रदेश १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यावहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उनले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताएका हुन् ।

फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङले बताए । विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु रुचिको विषय हुनसक्ने पनि हुने उनको भनाइ थियो । ‘हामीले प्रयास ग¥यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ,’ प्रदेश प्रमुख खापुङले भने, ‘यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ । आगामी दिन यसको अनुशरण सबैले गर्नुपर्छ ।’

व्यवहारिक शिक्षा लागू गरिएको शुभम् फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टे र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताए । फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् । -रासस