इटहरीः नेकपा एमालेका नेता लालप्रसाद (एलपी) साँवाले पार्टीको जारी महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
झापाको ४ नम्बर निर्वाचन क्षेत्रबाट संघीय सांसदका रुपमा प्रतिनिधित्व गरिरहेका साँवा पार्टीको प्रदेश १ सदस्य हुन् । २०३६ सालमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका साँवा २०४३ सालमा सुनसरीको धरानस्थित हात्तीसार क्याम्पसका स्ववियु सभापतिसमेत बनेका थिए । २०४७ सालमा साँवा पार्टीको उपत्यकास्तरीय जिल्ला पेसागत कमिटीमा आबद्ध भए । २०६४ सालसम्म पेसागत जिल्ला कमिटी सदस्यका रुपमा कार्य गरेका साँँवा हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । यसका साथै साँवा उद्योग विभागका सदस्य र नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका संघीय अध्यक्षसमेत हुन् ।