इटहरीः मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले उपचार बापतको शुल्क तिर्न नसकेको आरोपमा बन्धक बनाएपछि अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ ।

हिजो बिहान ६ बजे हाम फालेर गम्भीर घाइते भएका मोरङकै ३५ वर्षीय शिवकुमार मण्डलको सोही अस्पतालमा उपचारका क्रममा हिजै मृत्यु भएको हो । छारे रोगको उपचारका लागि अस्पताल भर्ना भएका मण्डलको उपचारमा खर्च भएको ३६ हजार रुपैयाँमध्ये १९ हजार रुपैयाँ तिर्न बाँकी रहेको देखाई अस्पतालले डिस्चार्ज भएको तीन दिनसम्म बन्धक बनाएको थियो । आईसीयूमा राखेर उपचार गरिएका मण्डललाई पछि भने अस्पतालले मानसिक समस्या रहेको भन्दै घर लैजान भनेको थियो । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले उपचार खर्च तिर्न नसकेका कारण बिरामीलाई बन्धक नबनाइएको दाबी गरेका छन् ।

अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौँ भन्दै बिरामीलाई राखेको उनको जिकिर छ । ‘बिरामीमा मानसिक समस्या पनि रहेछ । उनले देखाउने अस्वभाविक व्यवहारले अरु बिरामीलाई पनि धेरै असर गरिरहेको थियो,’ उनले भने, ‘त्यही भएकाले चाँडै घर लगिदिए हुन्थ्योभन्ने चाहना अस्पतालको पनि थियो । तर परिवारले नलगेका कारण आज यस्तो घटना भइदियो ।’