इनरुवाः नेकपा एकिकृत समाजवादी सुनसरीले सदरमुकाम इनरुवामा जिल्ला पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।

इनरुवा ३ स्थित सखुवागाछी–मालपोत सडकखण्डमा रहेको ऋषिराम निरौलाको घर भाडामा लिएको नेकपा एसले शुक्रबारबाट औपचारिक कार्यक्रम गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।

पार्टी कार्यालयको औपचारिक सुरुवात गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सिनाले सुनसरी जिल्लामा पार्टी संगठनको कामलाई व्यवस्थित बनाउनका लागि दैनिक कार्यालय सञ्चालन गरी संगठन परिचालन गरिने बताए ।

केन्द्रीय सदस्य तिम्सिनाले सुनसरीका १२ वटै पालिका र सबै वडाहरुमा संगठनका गतिविधि गर्दै जिल्लामा प्रत्येकको घरदैलोसम्म नेकपा एसका नेता कार्यकर्ताहरुको सम्बन्ध जोड्ने अभियान भोलिबाटै सुरु हुने जानकारीसमेत गराए ।

नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयबाट राजनीतिक, सांगठनिक तथा प्रशासनिक गतिविधिहरु सञ्चालन गरी पार्टी कामलाई अगाडि बढाउनका लागि नेता कार्यकर्ताहरु परिचालित हुने बताए ।

अध्यक्ष निरौलाले जिल्ला कमिटीका निर्णयहरु कार्याव्यन गराउन र संगठनलाई प्रत्येक वर्ग, समुदाय तह तप्कासम्म विस्तार गर्न कार्यालयबाट संस्थागत निर्णयका योजना कार्यान्वयनका लागि नीति निर्माण गरी निर्देशन र सहजीकरण गर्न सहज हुने बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एस सुनसरीका उपाध्यक्ष सीताराम पराजुली, उपाध्यक्ष रामचन्द्र मटियैत, सचिव वसन्त सुवेदी, उप–सचिव राजेश भण्डारी, प्रदेश १ का सदस्य तिर्थ अधिकारी, सरस्वति लुइटेल केसी, कार्यालय सचिव विनोद कटुवाललगायत विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमालेबाट विद्रोह गरी गठन भएको नेकपा एसले सुनसरीमा जिल्ला कमिटी, १२ वटै पालिका र सबै वडाहरुमा कमिटि गठन गरी संगठन निमार्ण र परिचालनका कामहरु गर्दै आएको छ ।