इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नै नपाउने व्यक्तिको बैंक खातामा सामाजिक सुरक्षा भत्ता भन्दै १ लाख ५६ हजार रुपैयाँँभन्दा बढी रकम पठाएको पाइएको छ ।
सामाजिक सुरक्षा भत्ता सेवाग्राहीलाई प्रत्यक्ष हस्तान्तरण तथा सेवाग्राहीको खातामा सिधै पठाउनुपर्नेमा सुन्दरहरैँचा नगरपालिकाले सेवाग्राहीको पहिचान नै नगरी हचुवाका भरमा बैंक खातामा रकम स्थानान्तरण गरेको पाइएको हो । नगरपालिकाले चौमासिक रुपमा बैंकलाई निकासा गरेको भत्ता रकम दाखिला गरिसकेपछि कार्यविधिमा भएको व्यवस्थाअनुसार बैंकले नगरपालिकालाई फिर्ता पठाएको रिभर्स फिडअनुसार लाभग्राहीको खातामा निजले पाउने रकमभन्दा बढी रकम दाखिला गरेको पाइएको महालेखापरीक्षकको प्रतिवेदनले बताएको छ । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा यसरी पाउनेभन्दा २८ लाख ९ हजार ४ सय रुपैँयाँ रकम बढी निकासा गरेको पाइएको हो । नगरपालिकाले दलित, जेष्ठ नागरिक, आंशिक अपाङ्गता भएका तथा पूर्ण अपाङ्गता भएकालाई थोरैमा ३ हजार रुपैयाँदेखि १ लाख ५६ हजार रुपैयाँसम्म रकम बढी निकासा भएको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले देखाएको छ ।
सुन्दरहरैँचा नगरपालिकाले सेवाग्राहीसँग सम्बन्ध नै नभएकी आयसा सरदारको एनआईसी एसिया बंैक विराटचोक शाखामा रहेको खातामा वडा नम्बर ९ का विभिन्न १३ जना सेवाग्राहीको भत्ता रकम १ लाख ५६ हजार रुपैयाँ पठाएको छ भने अमृता मरारको एनआईसी एसियाकै खातामा वडा नम्बर ९ का विभिन्न १३ जनाको प्रथम चौमासिकको रकम १ लाख ५६ हजार रुपैयाँ स्थानान्तरण गरेको पाइएको छ । नगरपालिकाले वडा नम्बर ५ की अस्मिता विकको खातामा १२ जना सेवाग्राहीको प्रथम चौमासिकको भत्ता १ लाख ४४ हजार रुपैयाँ तथा वडा नम्बर ५ कै असुप खातको खातामा वडा नम्बर ९ का विभिन्न १२ जनाको प्रथम चौमासिक भत्ता १ लाख ४४ हजार रुपैयाँका साथै वडा नम्बर ५ कै आयुष मोचीको खातामा वडा नम्बर ९ का १३ जना लाभग्राहीको प्रथम चौमासिक भत्ता १ लाख ५६ हजार रुपैयाँ तथा अर्की सोही वडाकी अर्पना विश्वकर्माको खातामा वडा नम्बर ९ का १२ जना लाभग्राहीको प्रथम चौमासिक भत्ता १ लाख ४४ हजार रुपैयाँ स्थानान्तरण गरेको छ ।
यस्तै, सोही वडाका विशाल विश्वकर्माको खातामा वडा नम्बर ९ का १० जना लाभग्राहीको प्रथम चौमासिक भत्ता १ लाख २० हजार रुपैयाँ, दीपेश सुन्दास र दीप्सा विश्वकर्माको खातामा वडा नम्बर ९ कै १०÷ १० जनाको प्रथम चौमासिक भत्ताबापत १ लाख २० हजारका दरले र आस्मा विकको खातामा १ लाख ३२ हजार रुपैयाँ स्थानान्तरण गरेको छ । नगरपालिकाले लाभग्राही पहिचान नै नभएको खातामा समेत विभिन्न ८ जना नगरवासीको सामाजिक सुरक्षा भत्ता भन्दै ९६ हजार रुपैयाँ निकासा गरेको पाइएको छ । सुन्दरहरैँचा नगरपालिकाले पहिचान नै हुन नसकेका व्यक्तिको खातामा रकम पठाएको छ भने कति लाभग्राहीको खातामा पाउनेभन्दा दोब्बर रकम निकासा गरेको पाइएको छ । यसरी पाउनेभन्दा बढी भुक्तानी भएका सेवाग्राहीबाट र दोहोरो भत्ता पाएका व्यक्तिबाट असुल गरी संघीय सञ्चित कोषमा फिर्ता गर्न महालेखापरीक्षकको कार्यालयले नगरपालिकालाई निर्देशन दिएको छ ।
यसैगरी, सोही आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न नगरपालिकाको अनुमानित बजेत प्रतिवेदनमा कायम भएको भन्दा बढी संख्यालाई भत्ता भुक्तानी हुनेगरी बैंकलाई पैसा पठाएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले थप रकम वितरण गर्नुपर्ने यथेष्ठ प्रमाण आफूसमक्ष पेस नभएको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । नगरपालिकाले विभिन्न ७ वटा बैंकमा तेस्रो चौमासिकको लागि भुक्तानी हुनुपर्नेभन्दा १ लाख ४० हजार २ सय रुपैयाँ बढी रकम पठाएको थियो । प्रथम चौमासिक निकासामा सरोकार नै नभएका विभिन्न व्यक्तिको नामको बैंक खातामा रकम पठाएको नगरपालिकाले तेस्रो चौमासिकमा समेत बढी रकम बंैकमा पठाउनुले सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको यकिन गर्ने बाटो रहेको महालेखापरीक्षकको कार्यालयको भनाइ छ ।