इटहरीः कोरोना महामारीको पहिलो लकडाउनको अवधिमा बेलबारी नगरपालिकाले सरकारी खर्चमा ब्रह्मलुट मच्चाएको सार्वजनिक भएको छ ।

नगरपालिकाले क्वारेन्टाइन निर्माणदेखि लिएर दाल, चामल खरिदका साथै काठमाडाँैमा रहेका नगरवासीलाई घरफिर्ति अभियान चलाउँदासमेत मनपरी खर्च देखाएर कोरोना कोषमा रहेको १ करोड ८ लाखभन्दा बढि रकम घोटाला गरेको पाइएको छ । नगरपालिकाले २०७७ वैशाखदेखि सोही वर्षको असार सम्ममा कोरोना कोषबाट १ करोड ८ लाख ६४ हजार ६ सय ३९ रुपैयाँ स्वाहा पारेको छ ।
सार्वजनिक खरिद नियमावलीअनुसार विशेष परिस्थितिमा ऐनको दफा ६६ बमोजिम एक तह माथिको स्वीकृति लिएर सार्वजनिक खरिद नियामावलीको २०६४ को नियम १४५ अनुसार खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरणअनुसार गुणस्तर परिमाण सर्त र कार्य सम्पन्न गर्ने अवधिजस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न पालना गनुपर्ने मापदण्डको खिल्ली उडाउँदै नगरपालिकाले कोरोना कोषमा मनपरि गरेको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले बताएको छ ।

यथासम्भव एकभन्दा बढी सेवा दिने सँस्थासँग प्रतिस्पर्धा गराई आपूर्ति गर्दा परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ प्रस्ताव लिई स्वच्छ र उचित मूल्यका लागि वार्ता गरी खरिद गर्नुपर्ने र खरिद गर्दा विशेष परिस्थितिसम्बन्धी विवरण, तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, जनहित तथा सामुदायिक स्वास्थ्यमा पर्ने संकट र खरिदका अन्य विधि अपनाउन नसकिने कारण खुलाउनुपर्ने भएता पनि नगरपालिकाले त्यसो नगरेको पाइएको महालेखाले बताएको छ । त्यसैगरी, सार्वजनिक निकायले १० लाख रुपैयाँभन्दा बढी रकमको खरिद गरेको भए त्यस्तो निकायको त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने र सो को जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनुपर्नेमा बेलबारी नगरपालिकाले त्यसो पनि नगरेको महालेखाको प्रतिवेदनले बताउँछ ।नगरपालिकाले कोरोनाकालमा राधानगर खाद्य उद्योगलाई चामल खरिद गरेको भन्दै ३१ लख २८ हजार रुपैयाँ भुक्तानी दिएको छ भने सृजना ट्रेड एण्ड सप्लायर्सलाई नुन, साबुन र दाल खरिद गरेको भन्दै ६ लाख ५८ हजार ५ सय रुपैयाँ भुक्तान गरेको छ । नुन दाल र साबुनमा भुक्तानी पाउनेमा विनिताश्री ट्रेड एण्ड सप्लायर्स प्रालि पनि छ । विनिताश्रीलार्ई ४ लाख ८५ हजार रुपैयाँ भुक्तानी दिइएको छ भने चामल खरिदबापत बजरङ्ग लघु उद्योगलाई ३ लाख ९८ हजार २ सय ९५ रुपैयाँ भुक्तानी दिइएको छ ।

यता, विन्दवासिनी खाद्य उद्योगलाई चामल खरिद गरेको भन्दै २१ लख ८६ हजार २ सय ५० रुपैयाँ भुत्तान गरिएको छ । कोरोनाकालमा क्वारेन्टाइन व्यवस्थापनका लागि भन्दै विशाल टेन्ट हाउसलाई खानाबापत १ लाख ७७ हजार ५ सय ५ रुपैयाँ र दोस्रो पटक क्वारेन्टाइन व्यवस्थापनमा खाजा र खानाको रकमबापत ३ लाख २९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गरेको छ । उता क्वारेन्टाइन निर्माणको क्रममा विद्युत जडान गरेको मात्रै ३ लाख ५४ हजार ४ सय ९० रुपैयाँ भुक्तानी गरिएको छ । बेलबारी नगरपालिकाले धिरनाथ समफुल विश्वास माविको विद्युत जडान गरेबापत ३ लाख ५४ हजार ४ सय ९० रुपैयाँ भुक्तान गरेको हो । सोही विद्यालयमा रहेको क्वारेन्टाइनलाई झ्याल खरिद, तन्ना, म्याट्रेस, कार्पेट, ब्ल्याङ्केट खरिद गर्दा ७ लाख २३ हजार ७ सय ५१ रुपैयाँ खर्च गरिएको छ । नगरपालिकाले औषधि तथा सर्जिकलका सामान खरिदबापत रिद्धिसिद्धि इन्टरप्राइजेज, प्रशान्त सर्जिकल टेड कन्सर्न र एस आर मल्टिट्रेड प्रालिलाई सबैभन्दा बढी १३ लाख ९५ हजार ३ सय ८० रुपैयाँ भुक्तान गरेको पाइएको छ ।

कोरोनाकालमा सुरक्षाकर्मीको गस्ति गर्ने गाडीको भाडा भन्दै दुई पटक एक लाख ४७ हजार ४ सयका दरले र एक पटक ९८ हजार ८ सय २५ रुपैयाँ खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापन, औषधि र दाल चामलबाहेक पनि बेलबारी नगरपालिकाले काठमाडौँमा रहेका नगरवासीलाई घर फर्काउने अभियान सञ्चालन गरी ४ लाख ८५ हजार रुपैयाँ गाडीभाडा तिरेको भन्दै भुक्तानी दिएको छ । नगरपालिकाले ३२५ जनालाई काठमाडौँबाट आफ्नो नगरमा फिर्ता ल्याउँदाको गाडीभाडा ४ लाख ८५ हजार देखाएको हो । यसरी कोरोनाकालमा बेलबारी नगरपालिकाले नियम मिचेर १ करोडभन्दा बढी रकम स्वाहा पारेको हो । महालेखापरीक्षकको कार्यालयले यसरी बेलबारी नगरपालिकाले नियमविपरीत खर्च गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।