इटहरीः खराब मौसमका कारण विमान सञ्चालनका लागि आवश्यक न्यूनतम भिजिविलिटी (पारदर्शिता) उपलब्ध नभएपछि त्रिभुवन विमानस्थलले आन्तरिक हवाइ उडान स्थगित गरेको छ ।

विमानले बाटो (एयर वे) पहिचान गरी उडान भर्न आवश्यक पर्ने भिजिविलिटी नपुगेपछि देशका कुनै पनि आन्तरिक गन्तव्यमा उडान भर्न नसकिएको त्रिभुवन विमानस्थलले जनाएको छ । कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा ५ किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ । मौसममा सुधार देखिनासाथ तालिकाअनुसार उडान नियमित गर्ने जनाउँदै विमानस्थलले उडान रद्द भने गर्नुपर्ने अवस्था नआउने बताएको छ ।

भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थलमा भिजिविलिटीका कारण उडान ठप्प भएका छन् । विमानस्थलका अनुसारका आजका लागि १५० उडान हुने तालिका थियो । सबै उडान मौसममा सुधारको प्रतीक्षामा रहेका छन् ।