इटहरीः झापाको कनकाई नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकलका चालक कनकाई–६ का ६० वर्षीय कविराज बोहोरा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार मे १ ज १४०५ नम्बरको बोलेरोले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका बोहरालाई उपचारार्थ बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ करिब ७ः४० उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी बोलेरोमा सवार सङ्खुवासभाको धर्मदेवी नगरपालिका–६ का ३८ वर्षीय गणेशबहादुर राई, इलामको सन्दकपुर गाउँपालिका–१ की २८ वर्षीया सङ्गीता राई, २६ वर्षीया ममता राई र झापाको गौरादह नगरपालिका–१ की ४१ वर्षीया बिमला लिम्बू घाइते भएको डीएसपी तिम्सिनाले बताए । घाइतेमध्ये गणेशबहादुर उदयपुरको लालपत्ता प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका हवल्दार रहेको उनको भनाइ छ । दुर्घटनापछि बोलेरो चालक इलामको देउमाई नगरपालिका–१ का २७ वर्षीय निमेश गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बोलेरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको भन्दै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।