इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एक दिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला अदालत सुनसरीबाट विभिन्न मितिमा, विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएता पनि फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।

यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार नौ सय ६ रुपैयाँ जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै सिलसिलामा डाका मुद्दामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदबेला – १ (हाल ईनरुवा – ७) बस्ने अजित मियाँलाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी –५ निवासी जैयसकुमार साहको घरमा डाँका गरेका थिए ।

जिल्ला अदालत सुनसरीको २०७५ असार ११ गतेको फैसलाबाट उक्त घटनामा संलग्न तीनै जनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । यसरी फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी कार्य गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकैदिन ४२ जनासहित गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेस गरेको हो ।