इटहरीः सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवसायी हुन् । पसल र घर एकै ठाँउ रहेकाले मोहन प्राय मादक पदार्थ सेवन गर्ने गर्दथे । मापसे गरेकै कारण प्राय उनको परिवारमा विवाद भइरहन्थ्यो । सोमबार पनि अत्याधिक मापसे गरेका मोहनले खाना खाने समयमा श्रीमती र छोराछोरीसँग पसलको विषयमा विवाद गरेका थिए ।

राति गरिब ८ बजेको समयमा मोहन र २५ वर्षीय छोरा सुरजसँग विवाद हुन्छ । तर बुबालाई सम्झाउन खोजेका छोरा सुरज र १५ वर्षीया छोरीमाथि मोहनले पसलमा रहेको एसिडको बोतल खन्याइदिन्छन् ।

सुन सफा गर्न राखेको एसिड छोरा सुरजको घाँटी र दायाँ हातमा र छोरीको हात र खुट्टामा पोखिन्छ । आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीकहाँ बुझाएका हुन् ।

बुवा मोहनको एसिड प्रहारबाट घाइते भएका छोरा सुरजको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । छोरीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

‘एसिड प्रहार गर्ने मोहन प्राय मादक पदार्थ सेवन गर्दथे, परिवारमा विवाद भइरहन्थ्यो’ ढकालले भने ‘सोमबार राति भने पसलमा रहेको एसिड छोराछोरीमाथि खन्याइदिएका हुन् ।’

प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।