इटहरीः मोरङको कटहरी गाउँपालिकामा एक चार वर्षीया बालिकामाथि बलात्कार भएको खुलासा भएको छ ।

घरमा कोही नभएको मौका छोपी भारत विहारको अररिया घर भई मोरङको कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदारले शनिबार राति ८ः०० बजे बालिकालाई लोहोन्द्रा खोलामा लगी बलात्कार गरेर गम्भीर घाइते बनाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त सरदारलाई जिल्ला प्रहरी कार्यालय विराटनगरले पक्राउ गरी जबर्जस्ति करणी मुद्दामा कारबाहीका लागि अनुसन्धान अगाडि बढाएको छ । पीडित बालिकाको भने गम्भीर अवस्थामा कोसी अस्पताल विराटनगरमा उपचार जारी रहेको एसपी राईले बताए ।

‘त्यसदिन घरमा ती बालिका एक्लै थिइन् । कोही नभएको मौका छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरबाट करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जबरजस्ती करणी गरेछन् । त्यसपछि बालिकालाई ढुंगा प्रहार गरेका रहेछन् । घरमा छोरी नभेटेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्न अवस्थामा छोरी अचेत अवस्थामा थिइन्,’ ती बालिकाका आफन्तले भने, ‘योनीदेखि रगत बगिरहेको थियो । अनुहार र शरीरभरी चोटपटक लागेको छ ।’ शनिबार नै पक्राउ परेका अभियुक्तमाथि अनुसन्धानका लागि जिल्ला अदालत मोरङले पाँच दिनको म्याद दिएको छ । पीडित बालिकामा गम्भीर मानसिक आघातसमेत देखिएको प्रहरीको भनाइ छ ।