डडेल्धुराः नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका हुन् । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए । कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहेकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् । कांग्रेसको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । -रासस