इटहरीः नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भोजपुर जिल्ला सभापति चयनका लागि भएको मतदानबाट कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ ।

सभापति पदमा विनोद वान्तवा, नन्दमणी राई र बालकृष्ण थापा गरी तीन जना प्रत्यासीले प्रतिस्पर्धा गरेकोमा वान्तवनाले चार सय १५, राईले तीन सय ९२ र थापाले तीन सय ६० मत ल्याए । तीनमध्ये कुनै पनि उमेद्वारले कुल मत संख्याको ५१ प्रतिशत मत ल्याउन नसकेपछि शीर्ष दुई उमेद्वारबीच पुनः प्रतिस्पर्धा हुने भएको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो हुने वान्तवा र दोश्रो हुने राई फेरि एक पटक शीर्ष नेतृत्व प्राप्तिको लडाइँमा होमिने भएका छन् ।

आज हुने पुनः मतदानबाट भोजपुर कांग्रेसले नयाँ सभापति पाउनेछ । कूल एक हजार दुई सय २७ मतमा एक हजार एक सय ६७ मत सदर र ६० मत बदर भएको थियो । अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा पनि निर्वाचन भएको छ । प्रतिस्पर्धामा उत्रिने दुईमध्ये जुन उमेद्वारले तेस्रो प्रतिस्पर्धीको मत आकर्षित गर्न सक्छन्, उनले नै बाजी मार्ने प्रारम्भिक आँकलन छ ।