इटहरीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लालबाबु पण्डित पार्टी उपाध्यक्ष पदमा चुनाव लड्ने भएका छन् ।
मंसिर १२ गते हुन गइरहेको पार्टीको १० औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि दाबेदारी दिने तयारीमा रहेको उनले खुलासा गरेका हुन् । एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको गठन हुँदा एमाले नै रोजेका पण्डितले महाधिवेशनको अवसरलाई ‘क्यास’ गर्दै पार्टीको उपल्लो दर्जामा छलाङ मार्ने रणनीति अपनाएका हुन् । निर्वाचनबाट पदाधिकारी चयन हुने अवस्थामा उपाध्यक्षमा उठ्ने मुडमा रहेका पण्डित निर्वाचन नभई सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा पनि चुप लागेर बस्ने पक्षमा भने देखिँदैनन् ।
सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा पनि अध्यक्ष र महासचिबबाहेक अन्य पदमा आफूलाई ‘एडजस्ट’ गर्ने उनको सपना छ । ‘मेरो दाबेदारी पदाधिकारीमा छ,’ पण्डितले भने, ‘सहमति भयो भने अध्यक्ष र महासचिवबाहेक पदाधिकारीको जुनसुकै पदमा बस्छु, निर्वाचन भयो भने उपाध्यक्षमा उठ्छु ।’ लामो समयदेखि एमालेमा रही राजनीति गर्दै आएका पण्डित अब भने केही महत्वाकांक्षी लक्ष्यका साथ मैदानमा उत्रिन लागेका हुन् । पार्टीमा स्वच्छ नेताको छवि निर्माण गरेका पण्डित सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । उनकै पालामा पीआर लिएका कर्मचारीलाई पदबाट हटाउने तयारी भएको थियो । यही निर्णयबाट चर्चामा आएका पण्डितले साइकललाई सवारीका रुपमा प्रयोग गरी साइकल मन्त्रीको उपमासमेत पाएका थिए । यद्यपि, उनकै सक्रियतामा आर्थिक अनियमितता भएका समाचारहरु पनि पत्रपत्रिकामा देखिएका थिए ।