इटहरीः सर्वसम्मत गराउने भन्दै नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो गृह क्षेत्रको मनोनयन दर्ताको मिति सारेका छन् । गच्छदारको गृह क्षेत्र सुनसरी ३ मा आज हुने मनोनयनलाई मंगलबारको लागि सारेका हुन् ।
सहमतिमा मनोनयन गराउने भन्दै गच्छदारले दबाब दिएपछि निर्वाचन कार्यतालिका सरेको हो । आफ्नो क्षेत्र भित्रको प्रदेशसभा निर्वाचनमा समेत सर्वसम्मत बनाउन पहल गरेका गच्छदारले प्रतिनिधिसभा क्षेत्र र महाधिवेशनमा समेत सहमति गराउने पहल गर्दै आएका छन् ।
सुनसरीमा सोमबार बिहान १० बजे मनोनयन दर्ता हुने समय तोकिएको थियो । मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँस गरेर निर्वाचन कार्यतालिका सारेको हो ।
पार्टी नेतृत्वबाट एक दिन निर्वाचन सार्न अनुरोध आएपछि कार्यतालिका परिवर्तन गरेको निर्वाचन अधिकृत वेदनारायण यादवले बताए । विजयकुमार गच्छदारले पनि फोन गरेर भोलि सहमतिको लिस्ट लिएर आउने भनेपनि एक दिनलाई सारिएको उनको भनाइ छ ।
आइतबार मात्र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहमतिमा अधिवेशन सम्पन्न आग्रह गरेका थिए ।