इटहरीः नेपाली कांग्रेसको धनकुटा प्रदेशसभा ‘क’को सभापतिमा जितेन्द्र रुम्दाली राई चयन भएका छन् ।
राई २८३ मतसहित आज बिहान सभापति चयन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहन बान्तवा राईले २३२ मत मात्र प्राप्त गरे । जितेन्द्र र मोहनका बीच ५१ मतको अन्तर रह्यो । अधिवेशनमा कुल ५५० मत खसेको थियो । प्रदेशसभा ‘क’मा सबै पदमा मतदान भएको थियो । अधिवेशनले नगेन्द्र राई र मिलन खड्गीलाई उपसभापतिमा चयन गरेको छ । सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन) र सञ्जय राई निर्वाचित भएका भने सहसचिवमा टंकप्रसाद थापा र यमकुमार श्रेष्ठ चयन भएका छन् ।
उपसभापति नगेन्द्र राई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट निर्वाचित भएका हुन् भने अन्य सबै सँस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट आएका हुन् । यस्तै‚ प्रदेश अधिवेशन प्रतिनिधिमा खुल्लातर्फ पदम बहादुर राई, धनबहादुर खड्का, भूपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा समूहका हुन् भने सुवेदी र पाण्डे पौडेल समूहका हुन् । प्रदेश अधिवेशन प्रतिनिधिमा महिलातर्फ सावित्रीदेवी श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवी पोख्रेल निर्वाचित भएका छन् ।
श्रेष्ठ दुवै पक्षको उम्मेदवार रहे पनि चेम्जोङ र पोख्रेल देउवा समूहका हुन् । प्रदेश अधिवेशन प्रतिनिधिमा आदिवासी महिलातर्फ पुजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन् । उनीहरु देउवा समूहका हुन् । आदवासी जनजातितर्फ लाखमान राई, यमप्रकाश मगर (दीपक) र साजन राई निर्वाचित भएका छन् । उनीहरु पनि देउवा समूहका हुन् । दलिततर्फ दुर्गा विक निर्वाचित भएका छन् । उनी पनि देउवा समूहका हुन् ।