भक्तपुरः भक्तपुरको एक उद्योगबाट ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका चार जना भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ ।

कात्तिक ३० गते ढलौटका सामान चोरी गरेका उनीहरूलाई पाँच दिनपछि पक्राउ गरेर आइतबार सार्वजनिक गरिएको हो । भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायबउपरीक्षक दीपक गिरीले बताए । प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरुले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए । उनीहरुका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको छ । चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । -रासस