इटहरीः धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–३, चिउरीबोटेबाट एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २४ वर्षीय राजन लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शनिबार बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाइछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्त लिम्बूउपर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।