इटहरीः सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा परेर गएराति दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका–१२ बजरङ्गी चोकस्थित विराटनगर–चिमडी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०४६ प ७७३५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर साइकलको पछाडि सवार सुनसरीको गढी गाउँपालिका–५ का ३३ वर्षीय हरि ऋषिदेवको मृत्यु भएको प्रवक्ता तिम्सिनाले बताए ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको उनको भनाइ छ । तिम्सिनाका अनुसार दुर्घटनामा साइकल चालक सुनसरीको बर्जु गाउँपालिका–४ का २९ वर्षीय रघुनन्द ऋषिदेव पनि घाइते भएका छन् । घाइतेको कोसी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका–१२ का सुरज मण्डल फरार बनेका छन् । आफ्नै घरमा मोटरसाइकल लुकाएर फरार भएका उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । त्यस्तै उदयपुरको बेलका नगरपालिका–५ स्थित मदन भण्डारी लोकमार्गमा को ३४ प २०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धा महिलाको मृत्यु भएको छ ।
मोटरसाइकलले साँझ ६ः२५ बजेतिर ठक्कर दिँदा बेलका–५ की ६५ वर्षीया ईच्छाकुमारी राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ११ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ३५ वर्षीय आलोक राई पनि गम्भीर घाइते भएकोमा उनको बीपी प्रतिष्ठानमै उपचार जारी रहेको छ ।