काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।
शनिबार भएको एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको दाबी गरेका थिए ।
अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवासमेत गरेका थिए । उनले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने पनि बताए ।
साथै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।
वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।
पार्टीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताएका थिए ।
भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । -रासस