काठमाडौँः नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ ।
वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।
सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र आइतबारसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए । माओवादी केन्द्रले शनिबार वडा सम्मेलन गरेको थियो ।
प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले बताए । माओवादीले शनिबार देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।
पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ ।
शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए । सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उनले बताए । -रासस