इटहरीः सत्ताधारी दल नेकपा (माओवादी केन्द्र)ले आज (शनिबार) मुलुकभर वडा सम्मेलन सम्पन्न गरेको छ ।
माओवादीले देशभरका छ हजार सात सय ४३ वडामा सम्मेलन सम्पन्न गरेको हो । सबै वडामा सम्मेलन गर्दै नेतृत्व चयन गरिने माओवादीले जनाएको छ । माओवादीले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन घोषणा गरेको छ । त्यसकै तयारीका लागि वडा सम्मेलन गरेको हो । माओवादीले मंसिर ११ गते पालिका अधिवेशन गर्ने जानकारी दिएको छ । सातवटै प्रदेशको अधिवेशन २५ गते गर्ने माओवादीको तयारी छ । पार्टीले सदस्यता नवीकरण गरिसकेको छ । सदस्यता नवीकरण सकिसकेपछि माओवादीले तल्ला तहका अधिवेशन सुरु गरेको हो । वडामा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने तयारी पार्टीको योजना छ ।
सम्भव नभए निर्वाचनमा जान पार्टीले निर्देशन दिएको छ । वडा अधिवेशनका लागि पार्टीले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । यस्ता समिति पालिका र प्रदेशमा पनि गठन गरिएको छ । प्रदेशमा सात र पालिकामा पाँच सदस्यीय निर्वाचन समिति बनाइएको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।