इटहरीः कोसी नदीको पूर्वी तटबन्ध मर्मतसम्भार गरिने भएको छ ।

पूर्वी तटबन्धमा कटान तिव्र भएकाले स्थानीयमा त्रास बढेको अवस्थामा तटबन्ध मर्मतसम्भार गरिने भएको हो । मर्मतको कार्य सुरु गर्न नेपाल र भारत दुवै देशका उच्च अधिकारीहरुले सो क्षेत्रको स्थलगत निरीक्षणसमेत सम्पन्न गरेका छन् । नेपालका तर्फबाट निरीक्षणमा सहभागी टोलीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागका प्रवक्तासमेत रहेका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल, विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलवा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतको उपस्थिति थियो ।

उच्चपदस्थ टोलीमा सहभागी नेपालले भने, ‘अर्को बाढीभन्दा पहिले आइडेन्टिफाई गर्नुपर्ने, आइडेन्टिफाई गरेको कामलाई फिल्ड फेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ ।’ भारतीय प्रतिनिधिमण्डलको भने गङ्गा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सिकेएल दासको नेतृत्वमा आएको थियो । दासले उच्चस्तरीय बैठकमा तटबन्ध मर्मतको विषयलाई प्राथमिकताका साथ उठाइने जानकारी दिए ।