इटहरीः मोरङको विराटनगर महानगरपालिका ४ स्थित कोसी राजमार्गमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक चिकित्सकको निधन भएको छ ।

निधन हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका ३ घर भई मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा इन्टर्न डाक्टरका रुपमा कार्यरत २७ वर्षीय निखिल पञ्जियार रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार प्र–२–०२–००३–प–२१८९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरर्फ गइरहेका पञ्जियारलाई गएराति ११ः३० बजे को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पञ्जियारलाई उपचारार्थ कोसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको राति ११ः४५ बजे निधन भएको डीएसपी तिम्सिनाले बताए ।

पञ्जियारसँगै मोटरसाइकलको पछाडि सवार रामप्रताप साह पनि सामान्य घाइते भएकोमा उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको उनको भनाइ छ । मृतक पञ्जियारले विराट मेडिकल कलेज मोरङबाटै एमबिबिएस उत्तीर्ण गरेका थिए । दुर्घटना गराउने ट्रकलाई बुढीगंगा–२ बखन भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको बताउँदै प्रहरीले ट्रकका चालक भने फरार रहेकाले खोजी जारी रहेको जनाएको छ ।