सुन्दरहरैंचाः करिव २ वर्षदेखिको कोरोना कहरका कारण सुसुप्त अवस्थामा रहेको मनोरञ्जन क्षेत्र पछिल्लो समय कोरोना कहर कम हुँदै गएसँगै लयमा फर्किन थालेको छ ।

चलचित्र हलहरु खुल्न थालेका छन् भने विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना हुन थालेका छन् । कोरोना कहरका कारण ठप्प भएर धेरै लामो समयपछि मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुँदा दर्शकहरुको भीड निकै लाग्ने गरेको छ । गत सोमबार मोरङको सुन्दरहरैंचा ६ मा भएको एक साँस्कृतिक कार्यक्रममा दर्शकहरुको भीड थामिनसक्नु थियो । सुन्दरहरैंचा ६ स्थित सिद्धार्थ युवा क्लवको आयोजनामा कार्तिक २९ गते भएको कार्यक्रममा सक्किगा नि नामक हास्य टेलिफिल्मका ख्यातिप्राप्त हास्यकलाकार अर्जनु घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री), चर्चित गायिका एलिना राई, भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बू तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिए । अलि ढिलो गरि सुरु भएको साँझको कार्यक्रममा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । सुन्दरहरैंचा ६ खर्सांगेनी चोकमा भएको कार्यक्रममा हालसम्मकै ठूलो संख्यामा दर्शक उपस्थिति भएको आयोजकले जनाएको छ ।

jg4

 

कोरोना कहरका कारण निकै लामो समयपछि कार्यक्रम भएको तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कालाकारहरुको प्रस्तुति टिकटबिना निःशुल्क हेर्न पाइने भएकाले दर्शकहरु सोचेभन्दा पनि बढी उपस्थित भएको कार्यक्रम संयोजक डम्बर थापामगरले जानकारी दिए । कार्यक्रममा पाँडे र जिग्रीले आफ्नो नियमित अभियन प्रस्तुत गर्दै दर्शकलाई भरपुर हँसाएका छन् । यता सुन्दरहरैंचाका स्थानीयबासी पनि पर्दामा देखिंदै आएका पाँडे र जिग्रीलाई पहिलो पटक आफ्नै आँगनमा आँखैअगाडि देख्नुका साथै हास्य प्रस्तुति हेर्न पाएपछि निकै उत्साहित भए । प्रस्तुति नसक्किंदासम्म दर्शकहरुको हाँसो रोकिएको थिएन भने दर्शकदीर्घाबाट हुटिङ पनि उस्तैगरी आएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मी एलएन गच्छदार हेर्न मन लाग्दालाग्दै धित नै नमरी प्रस्तुति सकिएकोजस्तो भएको बताउँछन् ।

पाँडे र जिग्रीभन्दा अगाडि प्रस्तुति दिएकी यतिबेलाकी चर्चित गायिका एलिना चौहानले पनि भरपुर मनोरञ्जन दिइन् । एलिनाले ओखल ढिकीमा, मिनरल वाटरजस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको अत्याधिक हुटिङ आएको थियो । आधा दर्जन गीत गाएकी एलिना यतिबेलाकी चर्चित गायिका भएको कार्यक्रममा देखिएको उनको क्रेजले नै पुष्टि गर्यो । एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेजमै भीड लाग्दा भीड व्यवस्थापन गर्नसमेत समस्या परेको थियो । यसैगरी, अर्का गायक भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बूले समेत दर्शकहरुलाई गीतमा निकै राम्रो गरी झुमाए । विकासले गीत गाइरहँदा कार्यक्रमका होष्ट, रेवति, मेनुका र नरेन्द्र स्टेजमै नाच्न बाध्य भए । चर्चित गायकको गीत अनि स्टेजमै होष्टको नृत्य देखेपछि दर्शकहरुमा समेत उत्साह छायो ।

jg1

यसका साथै स्थानीय कालकारहरुले लोकनृत्य तथा विभिन्न आधुनिक नृत्यहरु प्रस्ुतत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । यसैगरी कार्यक्रमका होष्ट रेवति निरौला र मेनुका डुम्जनले बीच बीचमा दर्शकहरुलाई हसाउँदै रमाइलो पारामा कार्यक्रम सञ्चालन गर्दा दर्शकहरुले थप मनोरञ्जन लिए । साँझको मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले गरेकी थिइन् भने सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवन कुमार राई लगायतको उपस्थिति रहेको थियो । यसैगरी, दिउँसो भने नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । प्रीतयोगितामा स्थानीय स्तरका करिव १ दर्जन समुहले सहभागिता जनाएका थिए ।

सुन्दरहरैंचा ६ का वडासदस्य तथा कार्यक्रम संयोजक डम्बर थापामगरले तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयबासीलाई विशृद्ध मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए । वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेकोमा कोरोना महामारीका कारण निकै लामो समय यस्ता कार्यक्रमहरु सञ्चालन नभएको अवस्थामा हाल कोरोना संक्रमण निकै कम भएकाले कोरोनाको त्रास भुलाई विशुद्ध मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम सञ्चलन गरिएको संयोजक थापामगरले जानकारी दिए । कार्यक्रम स्थानीयवासी स्वयम्ले स्वतस्फूर्तरुपमा संकलन गरेको रकमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विराट टेलिभिजन इटहरी र कोशी बुलेटिन डटकम मिडिया पार्टनरको रुपमा रहेका थिए ।

jg2