इटहरीः नेकपा एमाले भित्र संस्थापन समुहका प्रभावशाली रहेका मुरारी सुवेदी र मन्जु भण्डारीले महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी फिर्ता लिएका छन् । सँस्थापन भित्रका पुराना सुवेदी दम्पत्ति महाधिवेशन प्रतिनिधिको दौडबाट पछि हटेका हुन् ।
सँस्थापन समूहका प्रभावशाली मानिएका सुवेदी दम्पत्ति सुनसरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको दौडमा थिए । तर, पार्टीभित्र सर्वसम्मत गराउने भएपछि सुवेदी दम्पत्तिले नै उम्मेद्बारी फिर्ता लिएको बताएका छन् । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिनिधिको चुनावबाट पछि हटेको सार्वजनिक गरेका छन् ।
जिल्लाभित्र प्रतिनिधि सर्वसम्मत गराउन सुनसरीको निर्वाचन सारिएको थियो । गत कार्तिक ३० प्रतिनिधि छनोटको लागि सुनसरीमा निर्वाचन तय गरिएको थियो । पछि पुनः सर्वसम्मत गराउन निर्वाचनको मिति मङ्सिर ३ गते सारिएको हो ।
जितेर मात्र पार्टी एकता हुँदैन, अङ्क ठूलो विषय होइन एकता महत्त्वपूर्ण विषय हो’ सुवेदीले भने ’ धेरै कोसिस हुँदासमेत सर्वसम्मत हुन नसकेपछि हामी व्याक भएका हौँ, यसले पार्टी एकतालाई थप मजबुत बनाउने छ ।’
भण्डारीको समाजिक सञ्जाल फेसबुकको पोस्ट !
’वृहत्तर पार्टी हितका निमित्त हामीले हिजो बिहानबाट नै उम्मेदवारी फिर्ता गरेका हौं । निर्वाचनको परिणाम सबैले आँकलन गरेको नै हो , तर पार्टीको वृहत्तर हितका लागि यो फिर्ता हो । हारजित क्षणिक कुरा हो । नवौँ महाधिवेशनका प्रतिनिधि चयनको निर्वाचन हामीले हेरेका र भोगेका नै हौँ ।
त्यसले के फरक पारेको थियो र ? जित्ने प्रतिनिधि हुनुभयो हार्ने सबैले हाँसिहाँसी सधै पार्टीको अ.भियानमा लागी नै रहनुभयो । अहिले विषम परिस्थितिमा आन्तरिक प्रतिस्पर्धा नगरौँ भन्ने मात्र हो ।
अङ्कबाट माथि उठेर यथार्थपरक दीर्घकालीन सोच सहितको निष्कर्षमा पुग्न केही समय लागेको होला । अवश्य मिल्छ, मिल्नु पर्छ ,मिल्नैपर्छ । कोही पनि हतास नबनौँ ।’