इटहरीः ताप्लेजङ र विराटनगरमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

राति करिब साढे ११ बजे कोसी राजमार्गको विराटनगर–४ स्थित आयल निगमछेउमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा जनकपुर–३ का २७ वर्षे निखिल पञ्जियारको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उनी प्र.२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकलमा सवार थिए । ठक्करले गम्भीर घाइते उनको उपचारका लागि कोसी अस्पताल लगिएकामा चिकित्सकले केहीबेरपछि मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार जनकपुर–३ कै २८ वर्षे रामप्रभात शाह घाइते भइ नोबेल अस्पतालमा उपचाररत रहेको डीएसपी तिम्सिनाको भनाइ छ । यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित मेची राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अनटेस्टमा रहेको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ३० मिटर खस्दा मोरङको मिक्लाजुङका २७ वर्षे पुष्प विकको मृत्यु भएको डीएसपी तिम्सिनाले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते विकलाई उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।