इटहरीः सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ४ बाट ठूलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवानगंज गाउँपालिका–५ का २५ वर्षीय सन्तोषकुमार मेहेता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । प्रदेश –१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टरलाई प्रहरीले जाँच गर्दा ट्याक्टरमा १८० किलो गाँजा फेला परेपछि को २९ प ८४८६ नम्बरको मोटरसाइकल प्रयोग गरी ट्याक्टरलाई स्कर्टिङ गरिरहेका मेहतालाई पक्राउ गरिएको एसपी राईले बताए ।

ट्याक्टरका चालक फरार रहेकाले उनको खोजी जारी रहेको बताउँदै प्रहरीले गाँजासहित तस्करीमा प्रयोग भएका ट्याक्टर र मोटरसाइकल बरामद गरेको जनाएको छ । पक्राउ परेका अभियुक्तउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।