इटहरीः उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश नम्बर २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुन बस्ने ४० वर्षीय बौका सदा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार गाईघाटबाट रूपाटारतर्फ भवन ढलान गर्न मजदुर लिएर जाँदै गरेको ट्याक्टर घुम्ति मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार थप १९ जना घाइते भएको डीएसपी तिम्सिनाले बताए । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर पठाई अन्य घाइतेको उदयपुर जिल्ला अस्पतालमा उपचार जारी रहेको उनको भनाइ छ । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।