उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन् ।
वर्षापछि आएको बाढी–पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ–ठाउँमा बगाएको छ । पहाडी भू–भागका धेरै बस्तीहरू सम्पर्कविच्छेद भएका छन् । प्रान्तमा संकटकाल घोषणा गरिएको छ ।
अमेरिका–क्यानडा–मेक्सिकोको सम्मेलनका लागि वासिङ्टनमा रहेका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाढी र डुबानमा फसेकाहरूको उद्धारका लागि वायु सेना परिचालन गरिएको बताएका छन् ।
ब्रिटिस कोलम्बियाले केही महिनाभित्र भोगेको यो दोस्रो प्राकृतिक विपत्ति हो । यसअघि गत जुनमा त्यहाँको जंगलमा भीषण आगलागी भएको थियो । आगलागीमा एउटा शहर नै जलेको थियो । -एजेन्सी