इटहरीः कोसी राजमार्गअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका सइ सन्तोष बस्नेत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नम्बर प्लेटको को १ ब २४३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

साँझ ८ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा पुर्याउनसाथ चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरेका थिए । बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत रहेका थिए । दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।