इटहरीः नेपालमा सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएका तीन ओटा कम्पनीको उत्पादनले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै सरकारले सिमेन्ट बिक्रीवितरणमा रोक लगाएको छ ।

त्यसरी बिक्रीवितरणमा बन्देज लगाइएका कम्पनीहरुमा मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालि रहेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार धादिङमा उद्योग रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा गुणस्तर मापदण्डविपरीत रहेको पाइएपछि कारबाहीस्वरुप बिक्रीवितरणमा बन्देज लगाई १५ दिनभित्र लिखित जवाफ दिन पत्राचार गरिएको छ ।

मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्र रहेको महानिर्देक पुडासैनीले उल्लेख गरे । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ र जगदम्बाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्र पाइएको उनको भनाइ थियो । गुणस्तरमा कैफियत देखिएपछि गुणस्तर प्रमाण चिह्न ऐन २०३७ अनुसार तीन ओटै कम्पनीमाथि कारबाही अगाडि बढाइएको विभागले जनाएको छ । न्यून गुणस्तर रहेको ब्याचमा उत्पादित सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गरिनेछ ।cementbivag-17112021112345-1000x0 (2)