इटहरीः उदयपुरको लमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा एक ७० वर्षीय वृद्धले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् ।
गएराति ११ः३० बजे स्थानीय सन्तबहादुर राईले आफ्नी दुई श्रीमतीमध्ये कान्छी श्रीमती चतुरमायाको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार श्रीमतीको हत्या गरेका राईले लगत्तै आत्महत्याको प्रयास पनि गरेका थिए । सन्तबहादुरकी दुई जना श्रीमती छन् । कान्छी श्रीमतीले आफूलाई छाडेर जाने डरले उनले हत्या गरेको एसपी राईले बताए ।
सन्तबहादुरले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । सोही हतियार प्रयोग गरी आफ्नो घाँटीमा प्रहार गरेका सन्तबहादुरलाई उपचारार्थ जिल्ला अस्पताल पठाई जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको एसपी राईले बताए । प्रारम्भिक अनुसन्धानबाट सन्तबहादुरले कान्छी श्रीमती एक दिनका लागि कतै गएपनि आफूलाई छोडेर गएको बुझ्ने गरेको देखिएको बताउँदै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।