इटहरीः मोरङको बेलबारी नगरपालिकाका ९ जना वडाध्यक्षले नगरपालिकाबाट आफ्नो उपयोगको लागि मोटरसाइकल लिएर पनि मासिक यातायात भत्ता बुझ्ने गरेको पाइएको छ ।
नगरसभा सदस्यहरुले यातायात भत्ता पाउने कानून भएता पनि सरकारी सुविधाअनुसार मोटरसाइकल लिइसकेपछि दोहोरो सुविधा लिन पाइँदैन । यसरी नियममा भएको व्यवस्थाविपरीत बेलबारी नगरपालिकाका ९ जना वडाध्यक्षहरुले प्रतिमहिना ४ हजार ५ सयका दरले यातायात बापतको खर्च लिएका हुन । यसरी दोहोरो सुविधा लिँदा नगरपालिकाको ४ लाख ८१ हजार ९ सय ५० रपैँया सकिएको छ ।
दोहोरो सुविधा लिने वडाध्यक्षमा वडा नम्बर १ का चक्रबहादुर खुलाल, वडा नम्बर ४ का रामकुमार राई , वडा नम्बर ५ का विश्वबन्धु बस्नेत, वडा नम्बर ६ का उदयबहादुर राई , वडा नम्बर ७ का चेतबहादुर बस्नेत, वडा नम्बर ८ का धनपति गौतम, वडा नम्बर ९ का नरेन्द्र खड्का, वडा नम्बर १० का गंगाबहादुर याखा र वडा नम्बर ११ का वडाध्यक्ष यमबहादुर पोखरेल रहेका छन् । यी सबै वडाध्यक्षले प्रतिव्यक्ति ५३ हजार ५ सय ५० रुपैयाँका दरले यातायात खर्च बुझेको पाइएको छ । यसरी दोहोरो सुविधाबापत लिइको रकमलाई असुलउपर गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्न नगरपालिकालाई महालेखाले निर्देशन दिएको छ ।
सरकारी सवारीमा निजी नम्बर प्लेट
बेलबारी नगरपालिकाले आफ्नो कार्यालयीय प्रयोजनका लागि खरिद गरेको मोटरसाइकल कार्यालयभन्दा बाहिरका व्यक्तिले चलाउने गरेको पाइएको छ । नगरपालिकाको को २७ प ४१९७ नम्बरको यामाहा मोटरसाइकल नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) गुणराज तिम्सिनाले प्रयोग गर्ने गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ लेखापरीक्षण प्रतिवेदनले यसरी एक कार्यालयको मोटरसाइकल कार्यालयभन्दा बाहिरको व्यक्तिले प्रयोग गर्नु उचित नभएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, बेलबारी नगरपालिकाले आफ्ना तीन वटा सवारीमा सरकारी नम्बर प्लेट राख्नुपर्नेमा महालेखाको प्रतिवेदन आउँदासम्म निजी नम्बर प्लेट नै राखेको पाइएको छ । यसरी निजी नम्बर प्लेट भएका सवारीमा को २७ प ९२०८ नम्बरको एफ जेड मोटरसाइकल सचिवालयका दिनेश खड्काले चलाउने गरेका छन् भने अर्को नामसारी हुन बाँकी रहेको टिभिएस एन्टर्क स्कुटी भने जिन्सी शाखा प्रमुखले प्रयोग गर्ने गरेको पाइएको छ । यसरी सरकारी सवारी साधनमा नम्बर प्लेट राख्दा सेतो नम्बर प्लेटमा रातो अक्षर र अङ्क हुनुपर्ने सरकारी प्रावधान रहेको भएपनि नगरपालिकाले उक्त सवारी साधनमा नम्बर प्लेटको व्यवस्थापन गरेको छैन । सरकारी सवारी साधनलाई सोही वर्गको नम्बर प्लेट नराख्दा दुरुपयोग र व्यक्तिगत प्रयोग हुने सम्भावना प्रबल रहेको भन्दै महालेखाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
नियमविपरीत ५ जना सल्लाहकार राखेर सकियो ११ लाख
बेलबारी नगरपालिकाले नियममै नभएको सल्लाहाकारको नियक्ति गरेर नगरपालिकामाथि थप व्ययभार थोपरेको पाइएको छ । नगरसभाका सदस्यहरुले पाउने सुविधा सम्बन्धमा भएको व्यवस्थाले कार्यपालिकाको निर्णयबमोजिम नगरप्रमुखले एक जना निजी सचिवसम्म राख्न पाउने व्यवस्था भएता पनि बेलबारी नगरपालिकाले ५ जना व्यक्तिलाई विभिन्न सल्लाहाकारको रुपमा नियुक्त गरी ११ लाख १३ हजार ४ सय ५० रुपैयाँ स्वाहा पारेको पाइएको छ । यसरी नियुक्त गरिएका सल्लाहाकारको पारिश्रमिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको छ ।
नगरपालिकाले मुक्तिनाथ सुवेदीलाई कानूनी सल्लाहकार, उत्तम पोखरेललाई प्रेस सल्लाहकार, हर्कमान तामाङलाई राजनीतिक सल्लाहकार, योगेन्द्र बस्नेतलाई शैक्षिक सल्लाहाकार र शिव बराललाई आर्थिक सल्लाहकारको रुपमा नियुक्ति दिएको र जम्मा ११ लाख १३ हजार ४ सय ५० रुपैयाँ भुत्तानी दिएको पाइएको छ । महालेखाले उत्त रकम असुलउपर गर्न नगरपालिकालाई भनेको छ ।