इटहरीः मोरङको कटहरी गाउँपालिका ४ स्थित एक उद्योगमा भीषण आगलागी भएको छ ।

स्थानीय ग्लोबल बायो इनर्जी उद्योगमा बिहान ५ः३० बजे आगलागी भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो हालसम्म नियन्त्रणमा आउन सकेको छैन । आगालागी नियन्त्रणका लागि विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवी लगायतका स्थानबाट दमकल परिचालन गरिएको एसपी राईले बताए ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासीका अतिरिक्त नेपाली सेना तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित रहेको एसपी राईको भनाइ छ । आगलागीको कारण विद्युत चुहावट हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उद्योगका सञ्चालक नवनित अग्रवाल हुन् । क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।