इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनाका लागि आज अपराहन्न ११ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री राईले हिजो विश्वासको मत लिने तयारी भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सभामा उपस्थित नहुँदा सभामुख प्रदीपकुमार राईले बैठक आजका लागि स्थगित गरेका थिए ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार गत कार्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोसहित नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टी नेपाल प्रदेश संसदीय दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश संसदीय दलका नेता विष्णु तुम्बाहाम्फे राईको संयुक्त समर्थनमा नेता राईलाई मुख्यमन्त्री नियुक्त थिए ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्नेमा ५० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राईले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री राईले बुधबार विश्वासको मत लिने भएका हुन् ।

उनले आइतबार दिउँसो विश्वासको मतसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए । सरकारमा सहभागी पाँच दलले मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सोमबार नै ह्विप जारी गरिसकेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा सहभागी दलहरूले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान लागि ह्विप जारी गरेको बताए ।