इटहरीः नेपाली संगीत क्षेत्रमा निरन्तर साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् ।

उनलाई मँगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५० हजार रुपैयाँ नगदसहित कन्हैयासिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका वरिष्ठ संगीतकार तथा गायक कन्हैयासिंह परियारले आफ्नो ५० औं जन्मदिनको अबसरमा फजुल खर्च नगरी सो पैसाबाट कन्हैयासिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए । उनी काठमाडौँ आएको बेला सो पुरस्कार मङ्गलबार काठमाडौँमा वरिष्ठ गायिका शाहलाई प्रदान गरिएको हो ।

chandra kala samman-123

सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले नेपाली लोक संगीत सृजना र भाका संकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए । यस्ता श्रष्टालाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिनाकारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको पनि बासकोटाले बताए । यस्ता अग्रज श्रष्टालाई आउँदा दिनमा सरकारले वेवास्ता गरे पनि निजी क्षेत्रबाट खोजिखोजी पुरस्कृत र सम्मानित गर्नुपर्ने सुझाब पनि बासकोटाले दिए ।

टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त यति ठूलो राशीको पुरस्कार आफ्नो लागि अझ महत्वपूर्ण भएको गायिका शाहले बताइन् । अब यो पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने गायिका शाहले सो कार्यक्रममा बताइन् । वरिष्ट संगीतकार तथा गायक कन्हैयासिंहले चन्द्रकलाकै गीत सुनेर र गाएर आफ्नो बाल्यकाल बितेको बताए । यस्ता श्रष्टालाई आज आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा साह्रै खुसी लागेको उनले बताए । यस्तै संगीतकार सन्तोष श्रेष्ठ र गायक भिमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका चन्द्रकला शाहले नेपाली लोक संगीत क्षेत्रमा साढे चार दशकदेखि पु¥याएको योगदानको सो क्रममा चर्चा गरे ।