इटहरीः सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय सँस्थाले १५ हजार ८ सय ५० कित्ता सँस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।
कम्पनीले आफ्ना सँस्थापकलाई बिक्री गर्न लागेको शेयर बिक्री नभएपछि सर्वसाधारणलाई बिक्री लिलामी प्रक्रियामार्फत् बिक्री गर्न लागेको हो ।
सपोर्टले सोमबार (कात्तिक २९ गते) देखि १५ हजार ८५० कित्ता शेयर लिलामी खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेस गर्नुपर्नेछ । यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघ, सँस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा मङ्सिर १३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्ने लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले बताएको छ । लिलामी सेयर खरिद गर्न चाहनेले आरबीबी मर्चेन्ट बैंकिङ्गको कार्यालय टेकु काठमाडौँमा बोलकवोल पेस गर्न सकिने बताइएको छ ।