इटहरीः बीमा समितिले दुर्घटना बीमा गर्दा आवश्यक पर्ने बीमादरसमेत निर्धारण गरेको बीमा निर्देशिका २०७८ सोमबार जारी गरेको छ । 

जारी निर्देशिकाअनुसार दुर्घटनाको बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र जारी हुनेछ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट) सहित उल्लेख गर्नुपर्ने व्यवस्था छ निर्देशिकामा राखिएको छ । यस्तो बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुनेछ । सोबाहेक ६ महिना, ३ महिना तथा १ महिनाको पनि दुर्घटना बीमा गराउन सकिने गरी बीमा समितिले निर्देशिका पारित गरेको छ । बीमितको अनुरोधमा निर्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लागि बीमालेख जारी गर्न सक्ने जनाइएको छ । छोटो अवधिका बीमालेखमा लाग्ने बीमा शुल्कसमेत अलगअलग हुनेछ ।

निर्देशिकाअनुसार एक महिना सम्मको लागि वार्षिक बीमा शुल्कको २५ प्रतिशत, एकदेखि ३ महिनाको लागि ५० प्रतिशत, ३ देखि ६ महिनाको लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्ष सम्मको लागि शतप्रतिशत बीमा शुल्क लाग्नेछ । बीमा कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारको बीमालेख जारी गर्नेछ । तर सामूहिक बिमालेखको फाइदा लिनको लागि छुट्टै समुह बनाउन भने पाइनेछैन । व्यक्तिगत दुर्घटना बीमाको लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ हुनेछ । यस्तै सामूहिक दुर्घटना बीमाअन्तर्गत दुईदेखि २५ जना सम्मको लागि प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ, २६ जनादेखि १०० जना सम्मको लागि प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा, १०० जनाभन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।