इटहरीः सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी इट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ ।

उक्त इट्टा भट्टाका कामदार भारतिय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दीपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आइतबार अपरान्ह ४ बजे उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।