इटहरीः धनकुटाको पाख्रिबास नगरपालिका घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १३, खनारमा डेरा बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका ६, कोयलपुरमा उनको गएराति हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार खनारकै रिलायन्स धागो उद्योगमा काम गर्दै आएका दाहालको कोयलपुरकै २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग विवादपछि दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो । टाउकोमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका दाहाललाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको देखिएको छ । मृतक दाहालको शव पोस्टमार्टका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । उनको हत्यामा संलग्नहरु लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी राईको भनाइ छ ।
हत्यामा संलग्नताको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको बताउँदै एसपी राईले संलग्न्ता यकिन नभएकाले अभियुक्तको पहिचान भने गोप्य राखिएको बताए । सोही घटनामा मृतक दाहालका साथी धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र मोरङको बूढीगङ्गा गाउँपालिका –६ कोयलपुर नानु लिम्बू घाइते भएका छन् । घाइते थापा मृतक दाहालसँगै काम गर्ने साथी हुन् । अर्की घाइते नानुको भतिजीको बर्थ डे मनाउन भेला भएका युवाहरुबीच झडप भई हत्या भएको तर झडपको कारण भने खुल्न नसकेको एसपी राईले बताए । झगडा छुट्याउन गएका बखत हातमा खुकुरी प्रहार भई उनीहरु घाइते भएका हुन् । घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले आक्रमणमा संलग्न केही अभियुक्त फरार रहेकाले तिनको खोजी जारी रहेको जनाएको छ ।