इटहरीः प्रदेश सहकारी रजिस्ट्रार «कार्यालय इटहरीले स्थानीय तहका सहकारी शाखाका कर्मचारीलाई पल्स अनुगमनसम्बन्धी २ दिने तालिम आइतबार सम्पन्न गरेको छ ।
स्थानिय तहमा रहेका पालिकाका सहकारी विभाग हेर्ने प्रदेश १ का २६ जना कर्मचारीलाई प्रदेश १ को प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको आयोजनामा २ दिने तालिम सञ्चालन गरिएको थियो ।
मोरङ्गको लेटाङ्गमा सञ्चालित उत्त तालिमपश्चात् सहभागीले ६ बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरेका छन् । प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्लाका स्थानीय निकायका कर्मचारीले आफ्नो पालिकामा रहेका सहकारी सँस्थाको प्रभावकारी अनुगमन गर्न सकुन् भनी तालिम सञ्चालन गरिएको प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीका सूचना अधिकारी मोहनराज भटराईले बताए । तलिममा सहभागीहरुले सहकारी सँस्थाको अनुगमन नियमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने कानून निर्माण, कार्यविधि र मापदण्ड बनाउन आवश्यक सहकार्य र सम्वन्वय गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहभागीहरुले आगामी मङ्सिर महिनामा आफ्नो पालिकाको कम्तिमा ५ वटा सहकारी सँस्थाको लेखापरीक्षणका आधारमा पल्स, व्यवस्थापकीय र सदस्य केन्द्रीयता सूचकहरुको प्रयोग गरी सोही तथ्याङ्कका आधारमा आवश्यक निर्देशनहरु जारी गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारी सँस्थाको अनुगमनको क्रममा देखिएका कैफियतको सन्बन्धमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन सुधार कार्ययोजना माग गरी सोको प्रभावकारी कार्यान्वयको लागि सहकारी सँस्थालाई प्रतिबद्ध बनाउने समेत सहभागीको प्रतिबद्धता छ । सुशासनयुक्त सहकारी सँस्था बनाउन पालिकालाई आवश्यक पर्ने सहकार्य र सहयोग प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले दिने र सो उपलब्ध गराउने काम सहभागीले गराउनुपर्ने बताइएको छ । लेटाङको कृषि विकास बैंकको हलमा सम्पन्न तालिममा प्रदेश सहकारी कार्यालयका रजिस्ट्रार बलाराम निरौलाले भूमिका निर्वाह गरेका थिए । निरौलाले तालिमपश्चात् सघन अनुगमनको प्रक्रिया प्रदेश १ का स्थानीय तहसम्म पुग्ने अपेक्षा लिएको बताएका छन् ।