इटहरीः नेकपा एमालेको १४ औं महाधिवेशनको लागि सुनसरीबाट ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता भएको छ । सर्वसम्मत बनाउने प्रयास भएपनि तोकिएको भन्दा ४ गुणा बढी मनोनयन दर्ता भएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा शनिबार महाधिवेशन प्रतिनिधि छनौटको मनोनयन गराइएको थियो । उम्मेदवारी मनोनयनमा दाबी विरोध र नाम फिर्ताको लागी अझै २ दिन समय बाँकी रहेपनि सर्वसम्मत हुने स्थिति देखिँदैन ।
एमाले सुनसरीले प्रतिनिधि चयनको लागि कार्तिक ३० गते निर्वाचन हुने कार्यतालिका र ४ निर्वाचन क्षेत्रको मतदान केन्द्र तोकिसकेको छ ।
सुनसरीमा ४ वटा प्रतिनिधीसभाको निर्वाचन क्षेत्र रहेका छन् । जसमा २३ हजार १ सय १४ जना संगठित सदस्यहरु रहेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधिमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, निर्वाचन क्षेत्र २ मा खुलातर्फ ८ जनाको कोटामा ४२ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
निर्वाचन क्षेत्र ३ मा खुलातर्फ ६ जनाको कोटामा ३२ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, दलित खुलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेद्वारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको प्रचार विभाग प्रमुख रबि खनालले बताए ।