इटहरीः सुनसरीको रामधुनी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को नगर भेलाले पूर्ण नगर कमिटी गठन गरेको छ ।

नेकपा एस सुनसरी जिल्ला कमिटीद्वारा शनिबार झुम्कामा आयोजित घोषणासभा तथा सपथग्रहण कार्यक्रममा युवराज कटुवालको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको हो । नगर कमिटीका उपाध्यक्ष रघुवीर कार्की, सचिव रोसन खडका, उपसचिव डीबी शर्मा, असवलाल चौधरी र रेणुका घिमिरे चयन भएका छन् ।  नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको विधान, अन्तर पार्टी निर्देशन लगायतको आधारमा ४० प्रतिशत युवाहरुको अनिवार्य सहभागिता सुनिश्चित गरी नगर कमिटी गठन गरिएको हो ।

251920861_449601633260641_2467418149603356672_n

नेकपा एस रामधुनी नगर कमिटीमा संगठित भएका सबै जना नेकपा एमालेबाट विद्रोह गरेर आएका अनुभवी, जुझारु र सिर्जनशिल नेता कार्यकर्ताहरु रहेको अध्यक्ष निरौलाले बताए । नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रीय सदस्य देवराज कार्की, केन्द्रीय प्रतिनिधि परिषद सदस्य सागर तिम्सिना, डा.दिवाकर रेग्मी, केन्द्रीय सल्लाहकार कालिप्रसाद सापकोटा, लक्ष्मण चौधरी, प्रदेश सदस्य डा.सीएन पाठक, सरस्वति केसी, जिल्ला उपाध्यक्ष सीताराम पराजुली, उपसचिव राजेश भण्डारीलगायतको सहभागिता रहेको थियो । यसैगरी, नेकपा एसमा आबद्ध रामधुनीका युवाहरुको नगर भेलाले प्रकाश दाहालको अध्यक्षतामा ५१ सदस्यीय युवा संध नेपाल रामधुनीको गठन गरेको छ ।